पाँचथर । अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण पाँचथरमा चार परिवार विस्थापित भएका छन् भने सडक, पुल तथा जलविद्युत् आयोजनामा समेत ठूलो क्षति पुगेको छ।
जिल्लाको याङवरक गाउँपालिका–१ मा पहिरोले घर बगाएपछि लम्बाखोलाका मोहनलाल खवास, कबिर खवास तथा कोप्चेका गंगाप्रसाद बेघाको परिवार विस्थापित भएका हुन्। उनीहरू आफन्तको घरमा आश्रय लिएर बसिरहेका छन्। त्यस्तै, भगीमान बेघाको घर उच्च जोखिममा परेपछि उनको परिवारलाई पनि सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
बाढीपहिरोका कारण कोप्चेटोल, चाम्लिङडाँडा, एकराते टोल तथा मगरडाँडा क्षेत्रका दर्जनौँ घर जोखिममा परेका छन्। स्थानीय प्रशासनले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।
बाढीले लामिटार–चाम्लिङडाँडा जोड्ने झोलुङ्गे पुल तथा याङवरक–२ दोभानेस्थित अर्को झोलुङ्गे पुलमा क्षति पुर्याएको छ। यस्तै, पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गत मेवा खोलामा निर्माणाधीन सडक पुल बगाउँदा यातायात पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
तमोर करिडोर सडकअन्तर्गत निर्माणाधीन लिम्बूनी पुलको संरचना पनि बाढीले बगाएको छ। पुल निर्माणमा प्रयोग गरिएका स्टिल ट्रस्ट, ग्यास सिलिन्डर, इलेक्ट्रिक गन तथा फलामे पाइपसमेत बाढीले बगाएको बताइएको छ।
यता, बाढीपहिरोले हरिहृदुलय मेवाखोला, इंवाखोला तथा अरुण काबेली जलविद्युत् आयोजनामा समेत क्षति पुर्याएको छ। आयोजनाका बाँध क्षेत्र र संरचनामा क्षति पुगेको जनाइएको छ।
यसैगरी, याङवरक–४ सिगेवामा अलैँची खेती र खेतीयोग्य जमिनमा समेत बाढी पस्दा स्थानीय कृषक प्रभावित भएका छन्। खानेपानी, सिँचाइ तथा अन्य पूर्वाधार आयोजनामा पनि क्षति पुगेको प्रहरीले जनाएको छ।