पोखरा । पोखरा बसपार्क क्षेत्र वरपर अतिक्रमण गरी बनाइएका अस्थायी तथा अवैध संरचना हटाउन पुनः निर्देशन दिइएको छ। पोखरा महानगरपालिका ले सार्वजनिक स्थान अतिक्रमण बढ्दै गएको भन्दै सम्बन्धित सबैलाई निर्धारित समयसीमाभित्र संरचना हटाउन आग्रह गरेको हो।
महानगरपालिकाका अनुसार बसपार्क क्षेत्र यात्रु आवागमनको प्रमुख केन्द्र भएकाले यहाँ अव्यवस्थित पसल, टहरा र संरचनाले ट्राफिक व्यवस्थापन, सरसफाइ र सुरक्षामा समस्या सिर्जना गरिरहेको छ। यसअघि पनि पटक–पटक सूचना जारी गरिएको भए पनि अतिक्रमण हटाउन अपेक्षित सहयोग नआएकाले पुनः कडाइका साथ निर्देशन दिइएको जनाइएको छ।
निर्देशनअनुसार तोकिएको म्यादभित्र आफैं संरचना नहटाए महानगरपालिकाले डोजर प्रयोग गरी हटाउने र त्यस क्रममा हुने क्षतिको जिम्मेवारी सम्बन्धित व्यक्तिकै हुने चेतावनी दिइएको छ। साथै सार्वजनिक सम्पत्ति संरक्षण ऐनअनुसार आवश्यक कारबाहीसमेत अघि बढाइने उल्लेख गरिएको छ।
महानगरपालिकाले व्यवसायी र स्थानीयवासीलाई वैकल्पिक व्यवस्था खोज्न, कानुनी प्रक्रिया पूरा गरी मात्र व्यापार सञ्चालन गर्न र महानगरसँग समन्वय गर्न आग्रह गरेको छ। बसपार्क क्षेत्रलाई व्यवस्थित, सुरक्षित र यात्रुमैत्री बनाउने उद्देश्यले अभियान निरन्तर जारी रहने महानगरपालिकाको भनाइ छ।