सरकारी कागजात अब घरमै, ६० जिल्लामा विस्तार भयो हुलाकको कुरियर सेवा

1.5k Shares

काठमाडौं । सरकारले सार्वजनिक सेवा प्रवाहलाई थप सहज, छरितो र प्रविधिमैत्री बनाउने उद्देश्यसहित सरकारी कुरियर सेवाको विस्तारलाई तीव्र बनाएको छ। राहदानी, सवारीचालक अनुमतिपत्र (लाइसेन्स) तथा शैक्षिक प्रमाणपत्रजस्ता सरकारी कागजात अब सेवाग्राहीको घरमै पुर्‍याउने व्यवस्था विस्तार गरिएको हो।

हुलाक सेवा विभाग का अनुसार हालसम्म यो सेवा देशका ६० जिल्लामा विस्तार भइसकेको छ। विभागले सरकारी सेवा वितरण प्रणालीलाई डिजिटल माध्यमसँग जोड्दै नागरिकको प्रत्यक्ष पहुँच बढाउने र अनावश्यक झन्झट कम गर्ने लक्ष्य राखेको जनाएको छ।

विभागका महानिर्देशक मनमाया भट्टराई पङ्गेनीले सामान्य सरकारी कागजातका लागि नागरिकले पटक–पटक कार्यालय धाउनुपर्ने अवस्थाको अन्त्य गर्ने उद्देश्यले सेवा विस्तार गरिएको बताइन्। सीमित स्रोतसाधनका बाबजुद सेवा क्रमशः सबै जिल्लामा विस्तार भइरहेको उनको भनाइ छ।

विभागका अनुसार हालसम्म २९ हजार ७५८ वटा राहदानी सम्बन्धित जिल्लासम्म ढुवानी गरिएको छ। तीमध्ये एक हजार ७६३ वटा राहदानी सेवाग्राहीको घरमै पुगेर वितरण गरिएको छ। त्यसैगरी चार लाख ७५ हजार ९०८ वटा सवारीचालक अनुमतिपत्र सम्बन्धित यातायात कार्यालयसम्म पुर्‍याइएको छ भने ६७२ वटा लाइसेन्स घरमै वितरण गरिएको विभागले जनाएको छ।

सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रसँग पनि सहकार्य विस्तार गरेको छ। हालसम्म २६० वटा शैक्षिक प्रमाणपत्र वितरण गरिएको तथा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँगको सहकार्यमा ५३९ वटा प्रयोगशाला नमुना ढुवानी गरिएको विभागले जनाएको छ।

त्यस्तै नेपाल टेलिकम सँग सहकार्य गरेर सिमकार्ड घरमै पुर्‍याउने सेवा सुरु गर्ने तयारी भइरहेको छ। साथै मध्यपश्चिम विश्वविद्यालय सँग प्रश्नपत्र, उत्तरपुस्तिका तथा प्रमाणपत्र ढुवानी सेवा सुरु भइसकेको विभागले जनाएको छ।

 
 
सम्बन्धित समाचार