पाँच हजार रोपनी जमिन सिँचाइको प्रतीक्षामा

1.2k Shares

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकामा खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्‍याउने उद्देश्यले निर्माण गरिएको पानी सङ्कलन ट्याङ्की १४ वर्षदेखि अलपत्र अवस्थामा रहेको छ। झण्डै पाँच हजार रोपनी जमिनमा सहज सिँचाइ गर्ने लक्ष्यसहित वि.सं. २०६९ सालमा निर्माण गरिएको ट्याङ्की प्रयोगविहीन बनेपछि स्थानीय कृषक चिन्तित भएका छन्।

वालिङ नगरपालिका–९ र १० का कृषकले लामो समयदेखि ट्याङ्की सञ्चालनको माग गर्दै आए पनि समस्या समाधान हुन सकेको छैन। वालिङ साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले वालिङ–१० स्थित मदिखोलाको माथिल्लो भागबाट बजार क्षेत्रमा खानेपानी पुर्‍याउने क्रममा कृषकसँग भएको सहमतिअनुसार आठ लाख लिटर क्षमताको सिँचाइ ट्याङ्की निर्माण गरेको थियो।

तत्कालीन वालिङ साना सहरी खानेपानीका अध्यक्ष तथा पूर्वनगरप्रमुख भोजराज अर्यालका अनुसार आर्थिक वर्ष २०६१/६२ मा कृषकले सिँचाइका लागि पानीको सुनिश्चितता माग गर्दै बजार क्षेत्रमा पानी लैजान अवरोध गरेपछि ट्याङ्की निर्माण गर्ने सहमति भएको थियो। सोही सहमतिअनुसार खानेपानी विभागसँगको सहकार्यमा ५६ लाख रुपियाँ लागतमा ट्याङ्की निर्माण गरिएको वालिङ साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका प्रमुख देव बोगटीले जानकारी दिनुभयो।

कृषक तथा सामाजिक अगुवा राजेन्द्रप्रसाद गैह्रेले कृषकहरूको लामो संघर्षपछि निर्माण गरिएको ट्याङ्की वर्षौंदेखि अलपत्र अवस्थामा रहनु दुःखद भएको बताउनुभयो। उहाँले ट्याङ्की मर्मतका लागि नगरपालिका र सम्बन्धित कार्यालयसँग पटक–पटक आग्रह गरिए पनि पुनर्निर्माण हुन नसकेको गुनासो गर्नुभयो।

यस्तै, कृषक सूर्यप्रसाद पौडेलका अनुसार २०८१ सालमा सामान्य रूपमा सञ्चालनमा ल्याउने प्रयास गरिएको भए पनि सोही वर्ष असारमा आएको बाढीले पानी ल्याउने पाइप तथा आसपासका संरचनामा क्षति पुर्‍याएको थियो। बाढीपछि पुनर्निर्माणका लागि आवश्यक पहल नहुँदा समस्या झन् जटिल बनेको उहाँको भनाइ छ।

संस्थाका प्रमुख बोगटीले बाढीका कारण झण्डै १५ लाख रुपियाँ बराबरको क्षति पुगेको जानकारी दिँदै ट्याङ्की मर्मत तथा पुनर्निर्माणका लागि पहल भइरहेको बताउनुभयो। कृषकको हितलाई ध्यानमा राख्दै सकेसम्म छिटो ट्याङ्की पूर्ण रूपमा सञ्चालनमा ल्याउने योजना रहेको उहाँको भनाइ छ।

सम्बन्धित समाचार