विपी राजमार्ग पुनःनिर्माण तीव्र, आगामी वर्षभित्र काम सक्ने लक्ष्य

2k Shares

काठमाडौं । आठ महिनाअघि आएको बाढीपहिरोले क्षति पुर्‍याएको विपी राजमार्गको पुनर्निर्माण कार्य तीव्र गतिमा अघि बढाइएको छ । पूर्वाधार विकास सचिव गोपालप्रसाद सिग्देल र नेपालका लागि जापानी राजदूत माएदा तोरुले शिलान्यास गरेपछि पुनर्निर्माणले थप गति लिएको हो ।

गत वर्षको बाढीपहिरोले राजमार्गको करिब ३० किलोमिटर सडकखण्डमा ठूलो क्षति पुर्‍याएको थियो । अहिले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को आर्थिक तथा प्राविधिक सहयोग तथा नेपाल सरकारको लगानीमा राजमार्ग स्तरोन्नतिसहित पुनर्निर्माण भइरहेको छ ।

जापान सरकारको २ अर्ब ८० करोड येन अनुदान सहयोगमा पिप्ले–बर्खे खोला खण्डको ३.२ किलोमिटर सडक निर्माणको जिम्मा सिमिजु कर्पोरेसनले पाएको छ । त्यस्तै अन्य तीन खण्ड पुनर्निर्माणका लागि नेपाल सरकारले ८ अर्ब ५० करोड रुपैयाँ स्रोत सुनिश्चित गरिसकेको छ ।

काभ्रेपलाञ्चोकका तीन र सिन्धुलीको एक खण्डमा ठेक्का प्रक्रिया पूरा भई निर्माण कार्य सुरु भएको छ । पुनर्निर्माणपछि राजमार्गलाई दुई लेनमा विस्तार गरिनेछ भने पाँच वटा पुल पनि दुई लेनकै बनाइने छन् ।

भविष्यमा बाढीबाट थप क्षति हुन नदिन आरसिसी तथा प्लम पर्खाल निर्माण, सडक चौडा बनाउनेलगायत सुरक्षात्मक संरचनामा विशेष ध्यान दिइएको छ । आगामी वर्षभित्र सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

वि.सं. २०५३ मा जापान सरकारकै सहयोगमा निर्माण सुरु भएको विपी राजमार्ग २०७२ सालमा नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो । पुनर्निर्माण भइरहेको आयोजनाको पूर्वाधार विकास सचिव सिग्देलले अनुगमन गर्दै निर्माण व्यवसायीलाई समयमै काम सक्न निर्देशनसमेत दिएका छन् ।

 
 
सम्बन्धित समाचार