राज्यलाई सबै नागरिकको सहारा बनाउनुपर्ने भण्डारीको आग्रह

1k Shares

काठमाडौँ । विद्यादेवी भण्डारीले लोकतान्त्रिक गणतन्त्रका मूल्य र मान्यतालाई अझ परिपक्व र परिणाममुखी बनाउन सबै पक्ष दृढ सङ्कल्पित हुनुपर्ने आह्वान गरेकी छन्।

१९औँ गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले स्वदेश तथा विदेशमा रहेका नेपालीलाई सुख, शान्ति, समृद्धि र प्रगतिको कामना व्यक्त गरेकी छन्।

उनले राज्यका सबै निकाय, राजनीतिक दल र नागरिकलाई संघीय लोकतान्त्रिक गणतन्त्रलाई प्रभावकारी बनाउन एकताबद्ध हुन आग्रह गरेकी छन्।

भण्डारीले राष्ट्रिय लक्ष्यका रूपमा सुशासन, आर्थिक समृद्धि र सामाजिक न्यायलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै मुलुकको स्वाधीनता, राष्ट्रिय एकता र भौगोलिक अखण्डताको रक्षा गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणमा ध्यान दिनुपर्ने बताएकी छन्।

उनले गणतन्त्र दिवसलाई नेपाली राजनीतिक इतिहासको गौरवशाली र अविस्मरणीय दिनका रूपमा स्मरण गर्दै सहिदहरूको बलिदानप्रति श्रद्धाञ्जली अर्पण गरेकी छन्। साथै, लोकतान्त्रिक आन्दोलनका अग्रजहरूप्रति सम्मान व्यक्त गरेकी छन्।

उनका अनुसार गणतन्त्र केवल शासन परिवर्तन होइन, जनताको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने माध्यम हो। यसको वास्तविक सार्थकता तब मात्र देखिन्छ जब विपन्न, उत्पीडित र सीमान्तकृत नागरिकले राज्यलाई आफ्नो सहारा र आफूलाई सम्मानित नागरिकका रूपमा महसुस गर्न सक्छन्।

सम्बन्धित समाचार