तेल तथा ग्यास उत्खननका लागि चीनसँग थप सम्झौता तयारीमा विभाग
1.6k
Shares
काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो चरणको सम्झौताको तयारी थालेको छ। विभागले व्यावसायिक उत्खनन अघि बढाउन विभाग र चाइना जियोलोजिकल सर्भेबिच थप सम्झौताका लागि आन्तरिक गृहकार्य गरिरहेको जनाएको छ।
पेट्रोलियम पदार्थको आन्तरिक उत्पादनका लागि चीन सरकारको प्राविधिक सहयोगमा सञ्चालित पेट्रोलियम अन्वेषण परियोजनाअन्तर्गत दैलेखको भैरवी गाउँपालिका–१, जलजले क्षेत्रमा पहिलो चरणको ड्रिलिङ तथा अन्वेषण कार्य सम्पन्न भइसकेको छ।
विभागका अनुसार ड्रिलिङसँगै सिस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो–टेल्युरिक सर्भे र जियोकेमिकल स्याम्पलिङ सर्भे समेत सम्पन्न गरिएको छ।
पेट्रोलियम अन्वेषण परियोजनाका निमित्त प्रमुख धर्मराज खड्काका अनुसार गरिएको अध्ययन तथा नमुना परीक्षणले पेट्रोलियम पदार्थ तथा प्राकृतिक ग्यासको सम्भावना देखाएको छ।
उहाँका अनुसार परियोजनाको व्यावसायिक उत्पादन चरण अघि बढाउन आवश्यक प्राविधिक तथा संस्थागत तयारीका लागि सरकारसँग समन्वय भइरहेको छ।
विभागले परियोजना सफल भएमा पेट्रोल र प्राकृतिक ग्यासको आयातमा हुने ठूलो खर्च घटाउन सकिने तथा मुलुकको अर्थतन्त्रलाई सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको जनाएको छ।
यस परियोजनाले आयात प्रतिस्थापनमा सहयोग पुर्याउँदै देशको ऊर्जा सुरक्षामा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ। (रासस)