गलकोट (बागलुङ)तमानखोला गाउँपालिका–३ मा रहेको महिला कल्याण आमा समूहका १६ महिलाले ढाकाका सल, टोपी, गलबन्दी र अस्कोट बुनेर आम्दानी गर्न थालेका छन्। बिहानैदेखि समूहको भवनमा ढाका बुन्ने काममा व्यस्त महिलालाई पालिकाले सीप तालिम, तान, भवन निर्माण तथा उत्पादित सामग्री खरिद–बिक्रीमा सहजीकरण गर्दै आएको छ।
सात वर्षअघि म्याग्दीबाट आएका प्रशिक्षकमार्फत सीप सिकाइ सुरु गरिएको यस पहलमा पालिकाले हालसम्म करिब २५ लाख रुपैयाँ लगानी गरेको जनाएको छ। पालिकाका विभिन्न कार्यक्रममा महिलाले उत्पादन गरेका ढाकाका सामग्री प्रयोग तथा बजारीकरण गरिँदै आएको उपाध्यक्ष हिराकुमारी छन्त्यालले बताइन्। यसबाट महिलाले मासिक ५० हजार रुपैयाँसम्म आम्दानी गर्दै आत्मनिर्भर बन्दै गएको स्थानीयको भनाइ छ।