नेपाल–भारत सीमा विवादमा प्रधानमन्त्रीको भनाइप्रति नेकपाको आपत्ति

1.9k Shares

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभामा प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल–भारत सीमा सम्बन्धमा व्यक्त गरेको धारणा गैरजिम्मेवारपूर्ण र राष्ट्रिय सार्वभौमसत्ता तथा भौगोलिक अखण्डताविपरीत रहेको भन्दै कडा आपत्ति जनाएको छ ।

पार्टीका प्रवक्ता प्रकाश ज्वाला ले आइतबार जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्रीको अभिव्यक्तिलाई ‘राष्ट्रघाती’ भन्दै घोर निन्दा तथा भर्त्सना गरिएको उल्लेख छ ।

विज्ञप्तिमा भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा गरेको अतिक्रमणको ऐतिहासिक तथ्यलाई तोडमोड गर्दै नेपालले पनि भारतको भूमि कब्जा गरेको भन्ने अभिव्यक्ति तथ्यविपरीत रहेको दाबी गरिएको छ ।

नेकपाले सीमा अतिक्रमण र सीमा क्षेत्रमा हुने जग्गाको भोगचलन (क्रस–होल्डिङ) फरक विषय भएको स्पष्ट पारेको छ । सीमारेखाका कारण दुवै देशका सीमावर्ती नागरिकका खेतीयोग्य जमिन वा सम्पत्ति दुवैतर्फ पर्नुलाई कब्जा नभई भोगचलनको अवस्था मानिने पार्टीको तर्क छ ।

विज्ञप्तिमा कार्यकारी प्रमुखले संसद्मा दिएको अभिव्यक्ति संविधानको मर्मविपरीत भएको दाबी गरिएको छ । साथै नेपाल–भारत सीमा विवादको समाधान कूटनीतिक माध्यमबाट मात्र हुनुपर्नेमा पार्टी स्पष्ट रहेको उल्लेख छ ।

नेकपाले हालसम्म नेपालले भारतको कुनै भूभाग कब्जा नगरेको दाबी गर्दै लिम्पियाधुरा समेटिएको नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरिएको कुरा पनि स्मरण गराएको छ ।


 

सम्बन्धित समाचार