कानुनले अड्काउँछ’ भन्ने भाष्य अब चिर्नुपर्छ : मन्त्री गौतम

1.5k Shares

काठमाडौं, जेठ २२ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले कानुनले विकास र कामलाई अड्काउने होइन, समाधान दिने माध्यमका रूपमा स्थापित हुनुपर्ने बताएकी छन्।

राजधानीमा शुक्रबारदेखि सुरु भएको दोस्रो कानुन अधिकृत सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री गौतमले ‘कानुनले अड्काउँछ’ भन्ने पुरानो भाष्य अन्त्य गर्दै ‘कानुनले समाधान दिन्छ’ भन्ने सोच विकास गर्नुपर्नेमा जोड दिइन्।

उनले न्याय सेवाभित्रको कानुन समूह र कानुन मन्त्रालयलाई राज्य सञ्चालनको मस्तिष्कको संज्ञा दिँदै कुनै पनि नीति, योजना वा निर्णय कानुनी आधारबिनाको सम्भव नहुने बताइन्। तर, विभिन्न समयमा नेताहरूबाट ‘सबै कुरा कानुनमै अड्किन्छ’ भन्ने टिप्पणी आउने गरेको उल्लेख गर्दै अब त्यो धारणा परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याइन्।

मन्त्री गौतमले कानुन तर्जुमाका लागि परामर्शदाता र बाह्य निकायमा निर्भर रहने अभ्यास अन्त्य गर्ने तयारी भइरहेको जानकारी दिँदै कानुन आयोगलाई थप शक्तिशाली बनाएर सबै कानुनको मस्यौदा सोही निकायमार्फत तयार गर्ने योजना रहेको बताइन्।

नागरिकमैत्री सेवा प्रवाहका लागि मन्त्रालयले डिजिटलाइजेसनलाई तीव्रता दिएको उल्लेख गर्दै उनले संघदेखि स्थानीय तहसम्मका सबै कानुनलाई एकीकृत डिजिटल प्रणालीमा उपलब्ध गराउने काम भइरहेको जानकारी दिइन्।

उनका अनुसार मन्त्रालयले ‘नो योर ल’ (आफ्नो कानुन चिन्नुहोस्) र ‘मेक योर ओन ल’ शीर्षकका डिजिटल प्लेटफर्म सञ्चालनमा ल्याएको छ, जसमार्फत नागरिकले कानुनबारे जानकारी लिनुका साथै नयाँ कानुनको मस्यौदामाथि प्रत्यक्ष सुझाव दिन सक्नेछन्।

संसद्मा विधेयक दर्ता हुनुअघि नै मस्यौदा सार्वजनिक गरी नागरिकको सुझाव संकलन गर्ने व्यवस्था गरिएको बताउँदै मन्त्री गौतमले यसले कानुन निर्माण प्रक्रियामा जनसहभागिता बढाउने विश्वास व्यक्त गरिन्।

उनले सामाजिक सञ्जालमा हुने सतही बहसभन्दा तथ्य र अध्ययनमा आधारित सुझाव आवश्यक रहेको उल्लेख गर्दै नागरिकलाई कानुन निर्माण प्रक्रियामा अर्थपूर्ण रूपमा सहभागी गराउने लक्ष्यका साथ मन्त्रालय अघि बढिरहेको बताइन्।

सम्बन्धित समाचार