विवादपछि प्रधानमन्त्री बालेन ब्याक, ‘भारतको जग्गा मिचेको’ अभिव्यक्तिमा सरकारको स्पष्टीकरण

2.4k Shares

काठमाडौं । संसदमा नेपालले भारतको समेत भूमि मिचेको भन्ने विवादास्पद अभिव्यक्तिपछि प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) आफ्नो भनाइबाट पछि हटेको संकेत देखिएको छ। मन्त्रिपरिषद्को पहिलो बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रधानमन्त्रीको आशय त्यस्तो नभएको स्पष्ट पारेका छन्।

प्रवक्ता पोखरेलका अनुसार प्रधानमन्त्रीले सीमा विवादसम्बन्धी छलफलका क्रममा अर्को पक्षबाट पनि यस्ता विषय उठेको सुनेर आफू अचम्ममा परेको प्रसंग मात्र उल्लेख गरेका हुन्। उनले प्रधानमन्त्रीले नेपालले भारतको भूमि मिचेको निष्कर्ष प्रस्तुत नगरेको दाबी गरे।

यसअघि संसदमा कालापानी, लिपुलेक र लिम्पियाधुराको विषयमा उठेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री बालेनले ‘भारतले मात्रै होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिएका थिए। उक्त भनाइ सार्वजनिक भएपछि संसददेखि सामाजिक सञ्जालसम्म व्यापक आलोचना भएको थियो।

विवाद चर्किएपछि परराष्ट्र मन्त्रालयले समेत विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको भनाइ ‘क्रस बोर्डर अकुपेशन’ अर्थात् सीमा वारपारको भोगाधिकारसँग सम्बन्धित रहेको स्पष्ट पारेको थियो। मन्त्रालयले नेपाल–भारत सीमा निर्धारण सुगौली सन्धिअनुसार भएको र सुस्ता तथा लिम्पियाधुरा–लिपुलेक–कालापानी क्षेत्रमा मात्रै सीमांकनको विषय बाँकी रहेको जनाएको थियो।

सरकारका प्रवक्ता पोखरेलले सीमा सम्बन्धी बाँकी विवादहरू दुई देशबीच स्थापित संयन्त्र र कूटनीतिक संवादमार्फत समाधान गरिने बताए। आवश्यकता परे प्रधानमन्त्री पुनः संसदमा उपस्थित भएर जवाफ दिन तयार रहेको पनि उनले उल्लेख गरे।

सम्बन्धित समाचार